काठमाडौँ । भिसाको उद्देश्यविपरीत नेपालमा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा एक जापानी नागरिकलाई अध्यागमन विभाग ले नियन्त्रणमा लिएको छ।

विभागका अनुसार ती जापानी नागरिक सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए। उनले नेपालमा आवश्यक अनुमति नलिई करिब छ वर्षसम्म गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गरेको तथा स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि सरकारलाई बुझाउनुपर्ने कर नतिरेको पाइएको जनाइएको छ।

ADVERTISEMENT

नेपाली महिलासँग विवाह गरेका र नेपाली भाषा स्पष्ट रूपमा बोल्न सक्ने ती जापानी नागरिकले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दीभुम्दी क्षेत्रमा “पिस अफ माइन्ड रेष्टुरेण्ट क्याफे” सञ्चालन गर्दै आएका थिए। विभागका अनुसार सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी उनले विगत चार वर्षदेखि ललितपुरको झम्सिखेलमा समेत कफी सप सञ्चालन गरिरहेका थिए।

अध्यागमन विभागले झम्सिखेलस्थित उक्त कफी सप दर्ताविना सञ्चालन गरिएको जनाएको छ। नेपालमा पर्यटक भिसामा बसेका विदेशी नागरिकले व्यवसाय सञ्चालन गर्न विदेशी लगानी स्वीकृतिसहित व्यावसायिक भिसा लिनुपर्ने वा काम गर्ने भए ‘वर्किङ भिसा’ अनिवार्य लिनुपर्ने कानुनी व्यवस्था रहेको विभागले उल्लेख गरेको छ।

विभागका अनुसार भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने तथा अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न सक्ने कानुनी व्यवस्था छ।

अध्यागमन विभागले ती विदेशी नागरिकमाथि अनुसन्धान भइरहेको जनाएको छ। विभागले भने नियन्त्रणमा लिइएका जापानी नागरिकको नाम सार्वजनिक गरेको छैन।