काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिससम्बन्धी रिट निवेदन दर्तालाई लिएर विवाद झन् गहिरिएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले लिखित आदेशमार्फत रिट दर्ता गर्न निर्देशन दिए पनि मुद्दा महाशाखाका कर्मचारीहरूले केही निवेदन दर्ता गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतका कर्मचारीहरूका अनुसार प्रधानन्यायाधीशविरुद्धका रिट निवेदन दर्ता गर्ने विषय विगतमा पनि संवेदनशील रहँदै आएको छ । अहिले पनि भावी प्रधानन्यायाधीशको रूपमा सिफारिस गरिएका डा. मनोज शर्मा विरुद्धको रिट दर्ता प्रक्रियामा नेतृत्व तहभित्र असहमति देखिएको बताइएको छ ।

ADVERTISEMENT

नाम नखुलाउने सर्तमा सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीले कामु प्रधानन्यायाधीशले लिखित आदेश दिए पनि मुख्य रजिस्ट्रारबाट त्यसको कार्यान्वयन सम्भव नरहेको संकेत आएको दाबी गरे ।

“कामु प्रधानन्यायाधीशज्यूले रिट दर्ता गर्न लिखित आदेश दिनुभएको छ, तर मुख्य रजिस्ट्रारज्यूले स्पष्ट रूपमा त्यो सम्भव छैन भन्ने संकेत गरिसक्नुभएको छ,” ती कर्मचारीले भने, “अब केही दिनको कुरा हो, त्यसपछि जे गर्नुपर्ने हो, गरिएला ।”

ADVERTISEMENT

कर्मचारीहरूका अनुसार अदालत प्रशासनमा बहालवाला नेतृत्वभन्दा भावी नेतृत्वप्रति मनोवैज्ञानिक रूपमा बढी नजिक रहने प्रवृत्ति पनि देखिने गरेको छ । यही कारण प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्धको निवेदन दर्ता प्रक्रियामा ढिलाइ भएको उनीहरूको भनाइ छ ।

स्रोतका अनुसार मुख्य रजिस्ट्रार विमान पौडेल र कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लबीच पनि असन्तुष्टि रहेको चर्चा अदालतभित्र चलिरहेको छ ।

यसैबीच, रोलक्रम मिचिएको र वरिष्ठताको परम्परा तोडिएको भन्दै असन्तुष्ट न्यायाधीशहरूले रिटमाथि अस्वाभाविक आदेश गर्न सक्ने आशंकाका कारण पनि दर्ता प्रक्रिया लम्बिएको बताइएको छ ।

सर्वोच्च अदालतका अर्का कर्मचारीका अनुसार अहिले कर्मचारीहरू संसदीय सुनुवाइ प्रक्रियालाई नजिकबाट नियालिरहेका छन् ।

“सम्भवतः केही दिनभित्र ती रिट निवेदनमाथि दरपीठ आदेश आउन सक्छ,” ती कर्मचारीले भने, “त्यसपछि नयाँ प्रधानन्यायाधीश नियुक्त भइसक्नेछन् र बाँकी प्रक्रिया उहाँकै नेतृत्वमा अघि बढ्न सक्छ ।”