काठमाडौं । नेपाली क्रिकेटका अम्पायर भास्कर अर्यालको निधन भएको छ । विराटनगर महानगरपालिका–४ घर भएका ४६ वर्षीय अर्यालको आइतबार बिहान निधन भएको हो ।
परिवारजनका अनुसार अर्याल एक महिनादेखि जण्डिस रोगबाट पीडित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनको दुई सातासम्म अस्पतालमा उपचार गरिएको थियो । चिकित्सकले थप उपचार सम्भव नरहेको जानकारी दिएपछि गत आइतबार आफन्तले उनलाई घर फर्काएका थिए । घरमै उपचार र हेरचाहका क्रममा आइतबार बिहान उनको निधन भएको हो ।
अर्याल दुई दशकदेखि क्रिकेट अम्पायरको भूमिकामा सक्रिय रहँदै आएका थिए । उनले स्थानीयदेखि विभिन्न प्रतियोगितामा अम्पायरिङ गर्दै क्रिकेट खेलको विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनी क्रिकेटका लेभल–वान अम्पायर थिए ।
क्रिकेटप्रतिको उनको लगाव र निरन्तर सक्रियताका कारण उनी खेलकर्मीमाझ परिचित थिए । क्रिकेट क्षेत्रसागै पत्रकारिता र प्रकाशन क्षेत्रमा पनि उनको अनुभव थियो ।
अर्यालको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)ले गहिरो दु:ख व्यक्त गरेकाे छ । क्यानले सामाजिक सञ्जालमार्फत अर्यालको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गरेकाे छ ।






