काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले नयाँ बन्दमुखी सामूहिक लगानी योजना ‘एलएस होराइजन १२’ सार्वजनिक गरेको छ। दीर्घकालीन पूँजी वृद्धि लक्ष्यसहित ल्याइएको यस योजनाको कुल रकम  १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार योजना अन्तर्गत १२ करोड इकाइ निष्कासन गरिएको छ  भने प्रतिइकाइ मूल्य १० रुपैयाँ तोकिएको छ। योजनाको अवधि १२ वर्ष तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म खरिद गर्न सक्ने व्यवस्था गरिएको छ, जुन कुल निष्कासनको १० प्रतिशत हो।

ADVERTISEMENT

यो योजना मुख्यतः दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने उद्देश्यले ल्याइएको हो। फन्डले ८० देखि १०० प्रतिशतसम्म इक्विटीमा लगानी गर्नेछ भने तरलता व्यवस्थापनका लागि २० प्रतिशतसम्म ऋणपत्र तथा मुद्रा बजार उपकरणमा लगानी गरिने जनाइएको छ।

पोर्टफोलियो व्यवस्थापन अन्तर्गत २० प्रतिशत ठूला कम्पनी, ३० प्रतिशत मध्यम आकारका कम्पनी तथा ५० प्रतिशत साना तथा न्यून बजार पूँजीकरण भएका कम्पनीहरूमा लगानी केन्द्रित गरिनेछ। कम्पनीले यसलाई उच्च प्रतिफल सम्भावना भएका साना तथा विकासोन्मुख कम्पनीहरूमा केन्द्रित रणनीतिक योजना भनेको छ।

योजनामा नेपाली नागरिक, गैरआवासीय नेपाली, दर्ता भएका नेपाली फर्म, संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा विभिन्न कल्याणकारी कोषहरूले लगानी गर्न सक्नेछन्।

लगानीकर्ताका लागि योजनाको इकाइ शेयर बजारमा सूचीकृत गरिने भएकाले आवश्यक परेमा कारोबारमार्फत बिक्री गर्न सकिनेछ। साथै योजना परिपक्व भएपछि त्यसबेलाको नेट एसेट भ्यालु (NAV) अनुसार भुक्तानी प्राप्त हुनेछ।

लक्ष्मी सनराइज बैंक लिमिटेड यस योजनाको प्रायोजक रहेको छ भने फन्ड व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल ले सम्हाल्नेछ। कम्पनीले हालसम्म ९ भन्दा बढी म्युचुअल फन्ड व्यवस्थापन गरिसकेको जनाएको छ।कम्पनीका अनुसार ‘एलएस होराइजन १२’ दीर्घकालीन वित्तीय लक्ष्य भएका लगानीकर्ताका लागि उपयुक्त विकल्पका रूपमा ल्याइएको हो।

कम्पनीका अनुसार आवेदन मिति २०८३ साल वैशाख ३० गतेदेखि खुला भएको छ  आवेदन छिटोमा २०८३ साल जेठ ४ गतेसम्म रहनेछ भने ढिलोमा २०८३ साल जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ। त्यसैगरी, आवेदन दिने माध्यमका रूपमा मेरो सेयर (MeroShare) वा ASBA सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। थप जानकारीको लागि  लक्ष्मी सनराइज क्यापिटलको अफिसिय पेज वा कार्यालयमा  सम्पर्क गर्न जानकारी गराएको छ।