काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, उपकरण, फर्निचर र सवारीसाधनहरुलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ ।
कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापट लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यसैले, सार्वजनिक खर्चमा मितव्ययी अपनाउन परिपत्र गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।









