काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा सहवित्तीयकरण व्यवस्थापन गरी ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा रु. ७ अर्ब ५० करोड कर्जा लगानी हुने भएको छ।
आज २०८३ वैशाख ३० गते बुधबार प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड र लगानीकर्ता बैंकहरूबीच सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो। आयोजना गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण हुने जनाइएको छ।
परियोजनाको अनुमानित कुल लागत करिब रु. ११ अर्ब ३० करोड रहेको छ। जसअन्तर्गत ६७ः३३ को ऋण–स्वपुँजी अनुपातमा सहवित्तीयकरण बैंकहरूले रु. ७ अर्ब ५० करोड ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत स्वपुँजी प्रवर्द्धकबाट जुटाइनेछ।
आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्नपछि उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको उदीपुर सबस्टेशनमा जोडिनेछ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घण्टा र वर्षायाममा २००.५०३ गिगावाट घण्टा गरी वार्षिक कुल ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै जलविद्युत तथा हरित ऊर्जा क्षेत्रमा एकल, अगुवा तथा सहवित्तीयकरण कर्जामार्फत उल्लेखनीय लगानी गर्दै आएको बताए। उनले बैंकिङ क्षेत्र र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संयुक्त लगानीबाट धेरै आयोजना निर्माण तथा सञ्चालनमा आएकाले नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
उनका अनुसार हालसम्म बैंकले निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा तथा निर्माणाधीन १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा गरी कुल ४२ जलविद्युत आयोजनामा लगानी गरेको छ। बैंकले १८ वटा आयोजनामा अगुवा बैंक, ३ वटा आयोजनामा सह–अगुवा बैंक, १७ वटा आयोजनामा सहभागी बैंक तथा ४ वटा आयोजनामा एकल लगानी गरेको जानकारी पनि उनले दिए।
प्रदेशगत रूपमा बैंकले कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ आयोजना, बागमती प्रदेशमा ३९३.८२५ मेगावाट क्षमताका १४ आयोजना, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाट क्षमताका ९ आयोजना, लुम्बिनी प्रदेशमा ५३.०२ मेगावाट क्षमताका २ आयोजना तथा कर्णाली प्रदेशमा २०.२५ मेगावाट क्षमताका ३ आयोजनामा लगानी गरेको जनाएको छ।
प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतिस न्यौपानेले आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेकाले तत्काल निर्माण सुरु गरी समयमै सम्पन्न गरिने विश्वास व्यक्त गरे। उनले नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत निकायबाट आवश्यक स्वीकृतिहरू प्राप्त भइसकेको बताए।
सिटिजन्स बैंकले हालै फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ। साथै “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा” तथा फ्रिलान्सर लक्षित “फ्रिलान्सर सेभिङ अकाउन्ट” समेत सुरु गरेको छ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा उपलब्ध गराउनुका साथै क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको जनाएको छ। यसअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन्।
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।









