काठमाडौं। गोङ्गबु बसपार्क आसपासका होटलहरूमा बस्दै आएका सुकुम्बासी बस्तीका ४० परिवार (९३ जना) लाई नागार्जुन अपार्टमेन्टमा स्थानान्तरण गरिएपछि आधारभूत सुविधा र व्यवस्थापन अभावको विषयमा असन्तुष्टि देखिएको छ।

शुक्रबार साँझ करिब ७ बजे अपार्टमेन्टमा पुर्याइएका उनीहरूका अनुसार तत्काल खानेपानी, बसोबासको स्पष्ट व्यवस्था र जिम्मेवार समन्वयकर्ताको अभाव रहेको छ। स्थानान्तरण कसले गरेको हो भन्ने समेत स्पष्ट जानकारी नपाएको उनीहरूको गुनासो छ।

अपार्टमेन्टमा पुगेपछि केही समय खानेपानीको व्यवस्था नहुँदा आक्रोशित बनेका उनीहरूले सडकमा निस्किएर व्यवस्थापनको माग गरेका थिए। पछि स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको समन्वयमा अस्थायी रूपमा पानी उपलब्ध गराइएको छ भने खानेपानी व्यवस्थापनका लागि प्रयास भइरहेको जनाइएको छ।

ADVERTISEMENT

मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहालका अनुसार सरकारले स्थानान्तरण प्रक्रिया अघि बढाए पनि व्यवस्थापन कमजोर देखिएको छ। समन्वय गर्ने आधिकारिक व्यक्ति नहुँदा अन्योलता बढेको उनले बताए।

ADVERTISEMENT

स्थायी आवासको अवधि, खाना व्यवस्था र दीर्घकालीन व्यवस्थापनबारे स्पष्ट जानकारी नहुँदा स्थानान्तरण गरिएका परिवारहरू अनिश्चिततामा छन्। अधिकांश परिवारले दैनिक आवश्यकताका लागि आधारभूत सुविधा सुनिश्चित गर्न माग गरेका छन्।

ADVERTISEMENT

दीर्घरोगीहरूको अवस्थाले समस्या थप जटिल बनेको छ। दुई मिर्गौला फेल भएकी मुना खनाल साप्ताहिक डायलाइसिसका लागि वीर अस्पताल जानुपर्ने भए पनि यातायात र आर्थिक समस्याका कारण कठिनाइ भोग्नुपरेको छ। हाल एम्बुलेन्सको व्यवस्था भए पनि दीर्घकालीन समाधानबारे चिन्ता रहेको उनी बताउँछिन्।

विस्थापित परिवारहरूले पहिले बसोबास गरेको खोला किनार क्षेत्रमै सानो घर भए पनि अहिले सबै संरचना गुमेको र आफूहरूको आवासीय अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। उनीहरूले दीर्घकालीन समाधानका रूपमा आफ्नै नाममा जमिन र सुरक्षित आवास उपलब्ध गराउनुपर्ने माग दोहोर्याएका छन्।

उनीहरूका अनुसार तत्कालीन स्थानान्तरणभन्दा व्यवस्थित पुनःस्थापना र स्थायी आवासको व्यवस्था नै मुख्य आवश्यकता हो।