काठमाडौं। नेपाल बीमा प्राधिकरणले दुई वटा कम्पनीहरुलाई कारवाही गरेको छ । प्राधिकरणका अनुसार नियम उल्लंघन गरेको भन्दै पुनर्बीमा दलाल कम्पनीसहित दुई कम्पनीलाई नगद जरिवानासहित कारबाही गरिएको हो । प्राधिकरणले पुनर्बीमा दलालको सेवा दिँदै आएको लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालि र निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) लाई कारबाही गरेको हो ।
प्राधिकरणका अनुसार सलिकोलाई सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५(२) विपरीत कार्य गरेको पाइएपछि कारबाही गरिएको हो । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम उक्त कम्पनीलाई पहिलो पटक दुई लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

सम्पत्ति बीमा निर्देशन, २०८० अनुसार कुनै पनि कम्पनीले जारी गर्ने बीमालेखको बीमाशुल्कमा छुट, रिहायत, कटौती वा सहुलियत दिन नपाइने व्यवस्था छ । यद्यपि, बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री गरिएको अवस्थामा पाँच प्रतिशतसम्म वा अभिकर्ताले पाउने रकम बराबरको छुट दिन सकिने व्यवस्था रहेको छ । तर, सलिकोले उक्त व्यवस्था उल्लंघन गरेको पाइएपछि प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार कारबाही गर्दै दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

ADVERTISEMENT

यसैगरी प्राधिकरणले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ को दफा १५ को उपदफा (१) र (२) को व्यवस्था पालना नगरेको भन्दै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिलाई पनि कारबाही गरेको छ । पुनर्बीमा दलालको इजाजतपत्र प्राप्त संस्थाले समितिको स्वीकृतिबिना स्वामित्व हस्तान्तरण, परिवर्तन वा विघटन गर्न नपाउने व्यवस्था रहेको छ । साथै, स्वामित्व परिवर्तन गर्न चाहेमा कारण खुलाएर समिति समक्ष निवेदन दिनुपर्ने प्रावधान निर्देशिकामा उल्लेख छ । लर्ड बुद्धले भने उक्त व्यवस्था उल्लंघन गरेको पाइएपछि बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड (क) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जानकारी दिएको छ ।