काठमाडौं । बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण रोकिएको छ । एमालेले दबाब दिएपछि बुधबार नियुक्त तीन नयाँ मन्त्रीको शपथ अन्तिम समयमा रोकिएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए ।

शपथग्रहण कार्यक्रम बिहान १० बजे प्रदेश प्रमुख कार्यालयमा तय गरिएको थियो र आवश्यक जानकारी समेत कार्यालयलाई दिइएको थियो । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गर्दै संवेदनशील राजनीतिक परिस्थितिमा सरकार विस्तार गर्नु उचित नहुने धारणा राखेका थिए ।

उनले यस्तो कदमले गलत सन्देश दिन सक्ने भन्दै मन्त्रीहरूको शपथ तत्काल रोक्न सुझाव दिएका थिए। सत्ता साझेदार दल एमालेले असहयोग गर्ने संकेत देखिएपछि लामाले अब के गर्लान् भन्ने चासो उत्पन्न भएको छ ।