काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको हप्कीदप्कीले बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया रन्थनिएर ढलेका छन् । सोमबार राति ओलीले बोलाएको छलफलमा पुगेका प्रदेशकै सांसदहरूकै अगाडि थपलिया बेहोस भएर ढलेका हुन् ।
थपलिया बागमती प्रदेशका ‘भावी मुख्यमन्त्री’ समेत हुन् । एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहमतिअनुसार पाँच प्रदेशमा सरकार फेरबदल गर्ने भनिएको छ । जसअनुसार एमालेले कोशी, बागमती र लुम्बिनीको मुख्यमन्त्री लिने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले मुख्यमन्त्री लिने सहमति भएको छ ।
कोशीमा हिक्मतकुमार कार्की र लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा बहाल नै छन् । बागमतीमा नेपाली कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री थिए । नेकपासँगको सहमतिअनुसार बागमतीमा एमाले संसदीय दलका नेता थपलिया मुख्यमन्त्री हुनुपर्ने हो । तर अध्यक्ष ओलीले दुवै मुख्यमन्त्री हटाउने र बागमतीमा पनि थपलियाको साटो अर्कैलाई मुख्यमन्त्री बनाउने अभियान थालेका छन् ।
बागमतीमा नेकपा र एमालेले मात्रै सरकार बनाउन सक्दैनन्। त्यहाँ यी दुई दललाई राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि १२ जना सांसदको साथ चाहिन्छ ।
यसबीचमा ओलीले बागमती प्रदेशको नयाँ सरकार गठनका लागि दलका नेता थपलियालाई हटाउने अभियान चाले । गत सातादेखि नै थालिएको उक्त अभियानको नेतृत्व गरेका थिए सचिव महेश बस्नेतले । बागमती प्रदेशका इन्चार्जसमेत रहेका बस्नेतले आफ्नै जिल्ला भक्तपुर २ (क) बाट निर्वाचित किरण थापालाई मुख्यमन्त्री बनाउने गरी गुण्डुबाट लाइन मिलाए ।
शुक्रबार अध्यक्ष ओलीले दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउने गरी प्रदेशसभा सदस्यसहितको बैठकमा अनौपचारिक सहमति पनि जनाए। तर केही सांसद ओलीनिकट सचिव महेश बस्नेतमार्फत आफ्ना गाउँले एवं २०७३ सालमा राप्रपाबाट आएका किरण थापालाई दलको नेता बनाउन जोडतोडले लागिरहेका थिए ।
ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने सहमति जनाए पनि गुण्डुबाटै अर्कै रणनीति अघि बढाइयो । त्यो रणनीति के थियो भने सचिव बस्नेतकै योजनामा सांसद थापासमेत सहभागी भएर थपलियालाई छेक्न राप्रपाका सात सांसद विपक्षमा उभिन सक्ने वातावरण बनाइयो । राप्रपाका १२ मध्ये सात सांसद थपलियाविरुद्ध उभिएकाले दलको नेता भए पनि मुख्यमन्त्री हुन नसक्ने सन्देश गुण्डु लगियो ।
ओलीले सोमबार राति उनीहरूसँग छलफल गरेका थिए । उनले मंगलबार दिउँसोसम्म बहुमत जुटाएर नयाँ सरकार गठन निर्देशन दिए । अन्य सांसदहरूले थपलियामाथि कडा खालका टीकाटिप्पणी गरेका थिए । उनले सकेको प्रतिवाद गरे । अति भएपछि उनी त्यहाँबाट निस्कन खोजे ।
ओली निवासको ढोकामा पुगेपछि थपलिया ढले । उनलाई अन्य सांसदले पानी छर्केर उठाए । र, मध्यपुरठिमीस्थित एक अस्पतालमा उपचार गराएर त्रिपुरेश्वरमा होटलमा लगेर राखेका थिए । अहिले थपलिया आराम गरिरहेको बताइन्छ । थपलिया ढल्दासमेत ओलीले ‘यस्ता व्यक्तिले के प्रदेश सरकार चलाउलान् ? तुरु्रन्त बाहिर निकाल्न’ भनेका थिए ।








