काठमाडौं । सरकारले सुकुमवासी बस्ती हटाउन थालेदेखि अहिलेसम्म दुईजनाले आत्महत्या गरेका छन् । सुकुमवासी बस्तीमा सरकारले डोजर लगाएकै दिन थापाथलीमा एक १७ वर्षीय युवकले आत्महत्या गरेका थिए । हस्तबहादुर तामाङका १७ वर्षीय छोराले सुकुम्बासी बस्तीबाट निकालिएपछि आत्महत्या गरेका थिए ।

सुकुमवासी बस्तीबाट निकालिएका तामाङकी श्रीमती दीर्घ रोगी, आमा पक्षघातले ओछ्यानमै थला परेकी छन् भने बुबा मुटु रोगी छन् ।

ADVERTISEMENT

शुक्रबार बल्खुमा ६१ वर्षीय इन्द्रबहादुर राई मृत फेला परेका छन् । उनी बिहान आफू बसेको घरमा डोजर लगाएको हेर्न सक्दिनँ भनेर हिँडेका थिए । सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। प्रहरीले राईको शव बागमतीबाट बाहिर निकालेको छ।

‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ उनकी श्रीमती सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’ पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार राई परिवार बल्खुको सुकुमवासी बस्तीमा डेढ दशकदेखि बस्दै आएको थियो । उनी बल्खुस्थित तरकारी बजारमा काम गर्ने गर्थे ।

ADVERTISEMENT

सुकुमवासीकाे लगत र व्यवस्थापनकाे कुनै तयारी नगरी सरकारले सुरुमै घरटहरामा डाेजर लगाएर भत्काउन थालेपछि सयाैं परिवारले मानसिक र आर्थिक समस्या भाेग्नुपरेकाे छ । यत्राे मानवीय र भाैतिक क्षति हुँदा पनि सरकारले भने सुकुमवासी बस्ती खाली गर्नुलाई उपलब्धि मानेकाे छ ।