काठमाडौं । सरकारले शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकाका अतिक्रमित सरकारी जग्गाका अवैध संरचनामा डोजर चलाउन थालेको छ ।
काठमाडौं महानगरपालिका–११ मा पर्ने वंशीघाट क्षेत्रका घरहरूमा डोजर चलेको छ । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन ट्रकमा लोड डरेर करिब आधा दर्जन डोजर बस्तीमा पुर्याइएको थियो ।
आज वंशीघाटसहित काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालन गरिएको छ । सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउ लगायतका स्थानका बासिन्दाहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका थिए ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो ।
आजदेखि शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ। पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ।
बल्खु क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । टेकु क्षेत्रमा पनि डोजर चल्न थालेको छ । सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।








