काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय प्रगति गर्दै खुद नाफा र प्रतिशेयर आम्दानी (इपीएस) दुबैमा सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४३ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा भएको सामान्य वृद्धि र इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण बनेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशतले उल्लेख्य रूपमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा १६.६४ प्रतिशतले वृद्धि भएको छ । इम्पेयरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएपछि बैंकको नाफा बढ्न सहयोग पुगेको हो ।
यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्षको तुलनामा ६ रुपैयाँ १४ पैसा बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ । चैत मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १३.७७ गुणा रहेको छ ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दै चुक्ता पुँजी १५ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ । बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित रहेको छ ।
त्यस्तै, बैंकले चैत मसान्तसम्म २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।समग्रमा बैंकको वित्तीय सूचकहरूमा सुधार देखिए संगै आगामी त्रैमासमा कर्जा विस्तार र नाफा स्थिरता कायममा बैंक लागेको देखिन्छ ।








