काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको इ-गभरमेन्ट प्रोक्युरिमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो । ढुंगानालाई काठमाडौँ महानगरपालिका-१६ बालाजु र पोखरेल महानगरपालिका- ३२ पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।

सरकारी ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र दुवैजनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दुवैजनामाथि संगठित अपराध विवरण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यसअघि सोही कसुरमा कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डे र भीषण कन्ट्रक्सनका टंककुमार श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको थियो । हालसम्म उक्त मुद्दामा नौजना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।