काठमाडौं। प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादित भिडियोबारे स्पष्टीकरण दिँदै आफ्नो अभिव्यक्ति र व्यवहारप्रति क्षमायाचना गरेका छन्।

संघीय संसदको बैठक स्थगित भएको अवसरमा वैशाख ९ गते ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा स्थानीयसँग भेटघाट, अन्तरक्रिया तथा छलफलका लागि पुगेको उनले बताएका छन्। उक्त भेटघाटका क्रममा स्थानीयका गुनासा, समस्या र सार्वजनिक सेवाको अवस्था बुझ्ने उद्देश्य रहेको उनको भनाइ छ।

तर, सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा घटनाको पूर्ण सन्दर्भ नदेखाइएको र केही क्षणका दृश्य मात्र प्रस्तुत गरिँदा वास्तविकता विकृत भएको उनले उल्लेख गरेका छन्। अपूर्ण सन्दर्भका कारण विवाद सिर्जना भएकोप्रति उनले खेद व्यक्त गरेका छन्।

सार्वजनिक जीवनमा रहेको व्यक्तिको रूपमा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने कुरा स्वीकार गर्दै उनले परिस्थिति जे भए पनि आफूले थप धैर्य र मर्यादाका साथ प्रतिक्रिया दिनुपर्ने बताएका छन्। आफ्नो अभिव्यक्ति वा व्यवहारबाट कसैको आत्मसम्मान, भावना वा मर्यादामा असर परेको भए हृदयदेखि क्षमा चाहेको उनले बताएका छन्।

पोखरेलले आफू जनताको सेवाका लागि राजनीतिमा आएको र निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सार्वजनिक पदसँग जोडिएको जिम्मेवारी, मर्यादा र उत्तरदायित्वलाई गम्भीर रूपमा लिने उल्लेख गर्दै उनले आगामी दिनमा अझ संयमित र जिम्मेवार भएर काम गर्ने बताएका छन्।

यस घटनाबाट पार्टी, समर्थक, विद्यालय परिवार, स्थानीय समुदाय तथा सर्वसाधारणमा पर्न गएको असरप्रति उनले पुनः क्षमा माग्दै संवादमुखी र मर्यादित व्यवहार कायम गर्ने प्रतिबद्धता जनाएका छन्।