काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार वर्षकै उच्च कायम भएको छ ।

मंगलबार नेप्से परिसूचक २०७८ भदौ २ गतेपछिकै उच्च विन्दुमा पुगेको हो । त्यसदिन नेप्से परिसूचक ३१९८ विन्दु बन्द भएको थियो । ०७८ भदौ १६ गते तीन हजार विन्दुबाट तल खसेको बजार चार वर्षपछि आज पहिलोपटक तीन हजारमाथि बन्द भएको हो ।

ADVERTISEMENT

यससँगै नेपालको सेयर बजार इतिहासमा पहिलोपटक बजार पुँजीकरण ५० खर्ब माथि पुगेको छ । मंगलबार ३०.७६ अंकले बढेको नेप्से बजार पुँजीकरण ५० खर्ब नौ अर्ब ४६ करोड ४५ लाख दुई हजार ३४७ रुपैयाँ पुगेको हो । यो सँगै आज लगानीकर्ताहरुको सम्पत्ति ५१ अर्बले बढेको छ ।

अघिल्लो दिन बजार पुँजीकरण ४९ खर्ब ५८ अर्ब रुपैयाँ थियो । आज फ्लोट मार्केट क्यापिटलाइजेसन पनि १७ खर्ब माथि पुगेको छ ।