काठमाडौं । विपद् आउनु अघि नै व्यवस्थापनको प्रभावकारी तयारी गर्न राष्ट्रियसभा सदस्यहरूले सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्लाभका विषयमा छलफल गर्दै यस्तो निर्देशन दिइएको हो।

समितिका सभापति जयन्तीदेवी राईले मनसुन सुरु हुन लागेकाले बाढी, पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढ्ने भन्दै पूर्वतयारी अपरिहार्य भएको बताइन्। उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् आउनु अघि नै प्रभावकारी योजना बनाएर तयारीमा जुट्न निर्देशन दिइन्।

बैठकमा सहभागी सदस्यहरू ललितजङ्ग शाही, श्रीकृष्णप्रसाद अधिकारी, दुर्गा गुरुङ, विष्णुकुमारी सापकोटाधर्मेन्द्र पासवानलगायतले जोखिम न्यूनीकरणका कार्यक्रम समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। विशेषगरी मधेस क्षेत्रमा सुक्खा, बाढी, आगलागी, हावाहुरी र शीतलहरजस्ता प्रकोपको जोखिम रहने भएकाले लक्षित योजना आवश्यक रहेको उनीहरूको भनाइ थियो।

गृह सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई सुदृढ बनाउँदै समन्वय र सहकार्य बढाउनुपर्ने बताए। त्यसैगरी प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले विगतका अनुभव र यस वर्षको तयारीबारे समितिलाई जानकारी गराए। उनले गत वर्षको तुलनामा मानवीय क्षति कम भएको उल्लेख गर्दै त्यसलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको बताए।

भट्टका अनुसार आगामी दिनका लागि विस्तृत कार्ययोजना तयार गरिएको छ, जसअन्तर्गत स्थानीय तह, सरोकारवाला संस्था र समुदायसँग सहकार्य गर्दै जोखिम व्यवस्थापनको आधार तयार पारिनेछ। साथै सूचना प्रणाली सुदृढ गर्ने, सञ्चार माध्यममार्फत जनचेतना विस्तार गर्ने र विद्यालय पाठ्यक्रममै विपद्सम्बन्धी विषय समावेश गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ।

समितिले विपद् भएपछि मात्र राहतमा केन्द्रित हुने प्रवृत्तिभन्दा पहिले नै जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिएको छ।