काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई हतियार सहयोग गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। मंगलबार सिएनबिसीसँगको अन्तर्वार्तामा उनले अमेरिकाले ‘शंखास्पद सामग्री’ बोकेको एक जहाज नियन्त्रणमा लिएको दाबी गर्दै उक्त सामग्री चीनबाट आएको हुन सक्ने बताएका हुन्।

ट्रम्पले स्पष्ट रूपमा केही नखुलाए पनि उक्त सामग्री इरानका लागि सैन्य सहयोग हुन सक्ने संकेत गरेका छन्। यस विषयमा ह्वाइट हाउसले थप औपचारिक प्रतिक्रिया दिएको छैन।

केही पश्चिमा सञ्चारमाध्यमहरूले नियन्त्रणमा लिइएको जहाजमा सैन्य प्रयोजनमा प्रयोग हुन सक्ने रसायनहरू रहेको जनाएका छन्। यता चीनले भने यी आरोप अस्वीकार गर्दै उक्त जहाज विदेशी कन्टेनर जहाज भएको प्रतिक्रिया दिएको छ।

यसअघि पनि ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई इरानलाई हतियार नदिन आग्रह गर्दै पत्र लेखेको खुलासा गरेका थिए। पछिल्लो समय चीनबाट इरानतर्फ सम्भावित सैन्य सहयोगबारे अन्तर्राष्ट्रिय स्तरमा चर्चा भइरहेका छन्।