काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव मनाउँदै २०औँ वर्षमा प्रवेश गरेको छ। २०६४ साल वैशाख ७ गते २० औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको बैंकले १९ वर्ष पूरा गर्दै सोमबार विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो।
बैंकका अनुसार हालसम्म २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिएको छ। देशका सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले २०० शाखामार्फत सेवा विस्तार गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले करिब २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले सातै प्रदेशमा करिब ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। यसबाट वित्तीय सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातै प्रदेशका २० शाखाबाट रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। “रक्तदान नै जीवनदान” नारासहित आयोजित कार्यक्रममा करिब ५५० जनाले रक्तदान गरेका छन्।

यसै अवसरमा विभिन्न शाखामार्फत निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ। कोशी प्रदेशको दिक्तेल, बागमती प्रदेशको तेमाल र लाम्बगर, लुम्बिनी प्रदेशको बेलाटारी र साउ फर्साटीकर, गण्डकी प्रदेशको धारापानी र बेनी, कर्णाली प्रदेशको जुफाल तथा सुदूरपश्चिम प्रदेशको अमरगढी शाखामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरमा करिब ५०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् र आवश्यक औषधि पनि उपलब्ध गराइएको छ।
डिजिटल बैंकिङ विस्तारअन्तर्गत बैंकले मोबाइल बैंकिङमार्फत ग्राहकको केवाईसी विवरण अनलाइनबाट अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ। यसमार्फत ग्राहकले शाखामा नगई मोबाइलबाटै विवरण अद्यावधिक गर्न सक्नेछन्।
बैंकले नेपालमै पहिलो पटक एपीआई-आधारित बैंकिङ प्रणाली सुरु गर्दै ग्राहकको ईआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष जोड्ने व्यवस्था गरेको छ। यसले वास्तविक समयमा ब्यालेन्स जाँच तथा स्टेटमेन्ट हेर्न सकिने सुविधा प्रदान गर्नेछ।
त्यस्तै, फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा माइक्रो, मिड र कर्पोरेट ग्राहक लक्षित “फोनपे कर्पोरेट सोलुसन्स” सेवा पनि सुरु गरिएको छ। यसअन्तर्गत मोबाइल, कम्प्युटर वा एपीआई प्रणालीमार्फत शाखा उपस्थितिबिना भुक्तानी तथा निक्षेप कारोबार गर्न सकिनेछ।
बैंकले “बैंक अफ द इयर २०२४” र “बैंक अफ द इयर २०२५” जस्ता अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको जनाएको छ। हाल बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।








