काठमाडौं । गत फागुन २१ को निर्वाचनमा अप्रत्यासित पराजयको सामना गर्नुृपरेपछि विगतका ठूला भनिएका कांग्रेस, एमाले, नेकपा र राप्रपामा ठूलो हलचल मच्चिएको छ । अहिलेसम्म कुनै पनि दल विभाजन भइसकेका भने छैनन् । तर एकढिक्का पनि छैनन् । नेताहरूबीच सम्बन्ध राम्रो छैन ।

कांग्रेसमा विशेष महाधिवेशनले ल्याएको तरंगको असर अहिलेसम्म कायमै छ । गगन थापा नेतृत्वको कांग्रेसलाई स्वीकार्न शेरबहादुर देउवा पक्षका पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतलाई अप्ठेरो परिरहेको छ । सोही कारण उनीहरू अदालतसम्म पुगेका थिए ।

ADVERTISEMENT

एमालेमा अध्यक्ष केपी ओलीलाई हटाउने प्रयत्न भइरहेको छ । त्यसका लागि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायतको मोर्चाबन्दी सुरु भएको छ । एमालेको एउटा पक्ष भने प्रचण्ड नेतृत्वको नेकपासँग एकताको तयारीमा लागेको छ । तर त्यही नेकपामा पनि निर्वाचनमा करारी हार वेहोरेको भन्दै नेतृत्वको विकल्प खोज्दै छ । प्रचण्ड र माधवकुमार नेपाललाई नेतृत्व छाड्न दबाब परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र बढ्दो आन्तरिक असन्तुष्टिका बीच पार्टीले अनुशासन समितिको बैठक बोलाएको छ । सोमवार दिउँसो धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा संगठनभित्र देखिएका अनुशासनसम्बन्धी विषयहरूमा गम्भीर छलफल हुने बताइएको छ ।
पार्टीभित्र पछिल्लो समय देखिएको विवाद र मतभेदलाई मध्यनजर गर्दै बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी नेतृत्वको कार्यशैलीलाई लिएर उठिरहेका प्रश्नहरूले आन्तरिक वातावरण केही तनावपूर्ण बनेको छ ।

ADVERTISEMENT

महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नगरे पार्टी कमजोर बन्ने चेतावनी दिएपछि विवाद अझ चर्किएको छ। यसै सन्दर्भमा बैठकमा अनुशासनका विषय मात्र नभई समग्र संगठनात्मक अवस्थाबारे पनि छलफल हुने संकेत देखिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष राणालगायतको समूहलाई कारबाही गर्ने निष्कर्षमा पुगिसकेको छ । यदि आज अनुशासन समितिको बैठकले राणालगायत पाँचजनालाई स्पष्टीकरण सोधे राप्रपा पनि विभाजनको डिलमा पुग्ने अनुमान गरिएको छ ।