चितवन । खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि लाइन काट्न थालिएको हो ।

खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । उनका अनुसार कार्यालयले रु तीन करोड ७० लाख बक्यौता उठाउन बाँकी छ । बोर्डले भरतपुर महानगरपालिका–१ देखि १६ सम्म र वडा नम्बर २२ लाई आफ्नो कार्यक्षेत्र बनाएर पानी वितरण गर्दै आएको छ ।

ADVERTISEMENT

कार्यालय प्रमुख बरालका अनुसार हालसम्म नौ ग्राहकको धाराको लाइन काटिसकेको छ । सगसँगै बक्यौता असुलीका लागि कार्यालयले ग्राहकलाई एसएमएस गर्ने, पत्राचार गर्नेलगाएतका काम गर्न थालिएको छ । पत्राचारपछि भने बक्यौता असुलको क्रम वढेको छ ।

ADVERTISEMENT

बोर्डले मासिक दुई करोड ७६ लाख लिटर पानी बिक्री गर्दै आएको छ । अहिले चोरी नियन्त्रण भए पनि ढल निकासका लागि नाला बनाउने, सडक मर्मतलगायतका कामले चुहावट भने नरोकिएको कार्यालयले जनाएको छ ।