काठमाडौं — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी)मा क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार गएराति करिब १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरेको थियो। पहिरोसँगै उछिट्टिएका ढुंगाले बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुर्‍याएका हुन्।

पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेको छ। त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ।

ADVERTISEMENT

यसका साथै राष्ट्रिय झण्डा राखिएको पोल, बाथरुम, जिन्सी स्टोर भवन तथा मुख्य गेटअगाडिको सिँढीमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनापछि सुरक्षा अवस्था सामान्य रहेको र थप जोखिमको मूल्याङ्कन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।