काठमाडौँ, नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषहरूमा रहेको कुल २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ मुद्दती निक्षेपको रूपमा लगानी गर्ने तयारी गरेको छ। यसका लागि ‘क’ वर्गका वाणिज्य बैंकहरू, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरू, र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ। बैंकले २०८२ साउन १४ गते राति १२:०० बजेसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदरसहितको प्रस्ताव मागेको हो । 

लगानीका लागि तोकिएको कुल रकममा वाणिज्य बैंकहरूका लागि २ अर्ब ३४ करोड ४ लाख, विकास बैंकहरूका लागि ४३ करोड ८७ लाख, र वित्त कम्पनीहरूका लागि १४ करोड ६२ लाख रुपैयाँ छुट्याइएको छ। प्रस्ताव पेश गर्ने संस्थाहरूले न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम स्वीकृत सीमा भित्रको रकम प्रस्ताव गर्न सक्नेछन्। प्रस्तावित निक्षेप अवधि ३६६ दिनको रहनेछ र ब्याज त्रैमासिक किस्तामा भुक्तानी गरिनेछ। प्रस्ताव पेस गर्न चाहने संस्थाले पूँजीकोष अनुपात, निष्कृय कर्जा (NPL) सीमा, तरलता, नाफा स्थिति, र नेपाल राष्ट्र बैंकबाट लिएको कारवाहीको अवस्था लगायतका मापदण्डहरू पूरा गरेको हुनु पर्ने बताईएको छ ।

ADVERTISEMENT