काठमाडौं। नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा मोरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्री एस जयशंकरसँग भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे समग्र समीक्षा गरिएको थियो। भेटमा आपसी हितका विभिन्न विषयमा छलफल गर्दै द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, भूटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डी. एन. धुङ्गेलसँग भएको भेटमा नेपाल–भूटान सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षले आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा सहमति जनाएका छन्।
यसै क्रममा बङ्गलादेशका परराष्ट्रमन्त्री खलिलुर रहमानसँग पनि खनालको भेट भएको छ। भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै सहकार्यका क्षेत्रहरू विस्तार गरी सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको जनाइएको छ।
मन्त्री खनालले सम्मेलनका अवसरमा क्षेत्रीय सहकार्य, आपसी सम्बन्ध विस्तार र आर्थिक कूटनीतिक पहललाई अघि बढाउने लक्ष्यसहित उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका छन्।








