काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका छन् । बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सामूहिक बैठक जारी छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल, सचिव अमृतबहादुर राईसहित बैठकमा नेपालस्थित २० देशका राजदूतको सहभागिता रहेको बताइएको छ । यसअघि प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै भेट्ने प्रचलन रहँदै आएकोमा वालेन्द्रले भने आज सामूहिक भेटवार्ता गरेका हुन् ।
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बम, चिनियाँ राजदूत चाङ माओमिङ भारतीय राजदूत नवीन श्रीवास्तव, बेलायती राजदूत रब फेन, जापानी राजदूत मायदा तोरु, दक्षिण कोरियाका राजदूत पार्क तेयङ, जर्मनका राजदूत युगेन भोल्ज, बंगालादेशका राजदूत मोहम्मद शफिकुर रहमान भेटवार्तामा सहभागी छन् ।
रसियाका, साउदी अरब, भियतनाम, ईजरायल, स्विजरल्यान्डका कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिको पनि उपस्थिति छ । प्रधानमन्त्री बालेन्द्रले नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन यो कार्यक्रम आयोजना गरेको जनाइएको छ ।








