काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध भ्रामक तथा झुटा प्रचारबाजी भएको भन्दै आपत्ति जनाएका छन्।हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले आफू र श्रीमती आरजु राणा देउवा  विरुद्ध पक्राउ पुर्जी जारी भएपछि आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

देउवाले सञ्चारमाध्यममार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी पाएको उल्लेख गर्दै त्यसमा सत्यता नरहेको दाबी गरेका छन्। उनले आफू र आफ्नो परिवारको सम्पत्तिसम्बन्धी विषयमा गलत ढंगले प्रचार गरिएको बताएका छन्।

ADVERTISEMENT

“म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ। हाम्रो विषयमा भ्रामक र झुटा प्रचारबाजी भइरहेको छ,” देउवाले भनेका छन्, “नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा हामीले आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेका छौं।”

उनले आफ्नो जीवन सधैं पारदर्शी रहेको उल्लेख गर्दै यसलाई ‘खुला पुस्तक’ सरह भएको बताएका छन्। साथै, उपचाररत रहेकाले तत्काल विस्तृत प्रतिक्रिया दिन नसकिएको पनि उनले जनाएका छन्।

ADVERTISEMENT

देउवाले आफ्नो राजनीतिक जीवन संघर्षपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताका लागि आफूले लामो समयदेखि योगदान दिएको दाबी गरेका छन्।

उनले आफ्नो गृहमन्त्री र प्रधानमन्त्री कार्यकालमा भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण कानुनी व्यवस्था लागू गरिएको पनि स्मरण गराएका छन्। “मेरो पहलमा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन लागू भएको हो भने मेरो प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको सर्वविदित छ,” उनले उल्लेख गरेका छन्।

सार्वजनिक रूपमा आएका समाचार तथा विवरणहरूलाई अतिरञ्जित गरिएको भन्दै देउवाले त्यस्ता सूचनाबाट भ्रमित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसैबीच,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि बुधबार देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।