काठमाडौँ । सोमबारदेखि सरकारी कार्यालय बिहान ९ देखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ देखि बेलुका ५ बजेसम्म खुल्ला हुने भएका हुन् । यसअघि कार्यालय समय बिहान १० देखि ५ बजेसम्म थियो ।
मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ देखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यससम्बन्धी निर्णय आइतबार नै राजपत्रमा प्रकाशित भइसकेको छ ।
सोही कारण सोमबार बिहानै सरकारी कार्यालय खुलेका थिए । कर्मचारीहरू ९ नबज्दै कार्यालय पुगेका थिए । हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुने भएकाले सरकारले एक घन्टा समय थप गरेको हो ।









