काठमाडौँ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिन आनाकानी गर्ने तथा बीमित सेवाग्राहीलाई आवश्यक सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थामाथि कारबाही गरिने स्वास्थ्य बीमा बोर्डले चेतावनी दिएको छ।

हालै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट बीमा सेवा प्रभावकारी रूपमा उपलब्ध नगराइएको, बिरामीलाई दुःख दिइएको र आवश्यक उपचारमा ढिलासुस्ती गरिएको गुनासो बढेपछि बोर्डले यस्तो कडा सन्देश दिएको हो।

ADVERTISEMENT

बोर्डका अनुसार, केही स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई उपचारका लागि अनावश्यक रूपमा अग्रिम समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक औषधि र सेवा उपलब्ध नगराउने गरेको पाइएको छ। यस्ता गतिविधिले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य नै प्रभावित हुने भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण जनाएको छ।

ADVERTISEMENT

स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार बीमित नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिएको छ। तर व्यवहारमा केही सेवा प्रदायक संस्थाले नियमविपरीत काम गरिरहेको पाइएको बोर्डको भनाइ छ।

बोर्डले सबै स्वास्थ्य संस्थालाई कानुनअनुसार सेवा प्रवाह गर्न, बीमितप्रति समान व्यवहार गर्न तथा आवश्यक उपचार र औषधि समयमै उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, सेवा प्रवाहमा कुनै किसिमको अवरोध वा भेदभाव देखिएमा कडा कारबाही गरिने स्पष्ट पारिएको छ।

ADVERTISEMENT

बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार, अनुगमनका क्रममा नियम उल्लंघन गरेको प्रमाणित भएमा सम्बन्धित स्वास्थ्य संस्थामाथि स्वास्थ्य बीमा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र विश्वसनीय बनाउन सेवा प्रदायक संस्थाको जिम्मेवारी महत्वपूर्ण हुने भन्दै बोर्डले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, सेवाग्राहीले पनि समस्या परेमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ।