काठमाडौं। मुग्लिन–नागढुंगा सडक खण्डमा आज (चैत १७) देखि तीन दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ। सडक स्तरोन्नतिको कार्य तीव्र रूपमा सञ्चालन भइरहेका कारण यस्तो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायतका क्षेत्रमा सडक सुधार तथा विस्तारको काम भइरहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
यसअघि दिनको समयमा पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको गुनासो बढेपछि रातिको समयमा मात्र आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई यात्रा योजना मिलाउन र वैकल्पिक समय वा मार्ग अपनाउन अनुरोध गरेको छ।
मुग्लिन–नागढुंगा सडक देशको प्रमुख राजमार्गमध्ये एक भएकाले यहाँ हुने अवरोधले लामो दूरीका यात्रु तथा मालवाहक सवारीमा प्रभाव पर्न जाने भएकाले अगाडी जानकारी गराएको छ ।






