काठमाडौं । आइतबारदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी(माडी, मेघौली(विजयनगर(शुक्रनगर र जगतपुर(रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।
वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने क्षमताले नधान्ने अवस्था रहेको छ ।
अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।
उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।
यस्तो छ लोडसेडिङ तालिका
नारायणी माडी फिडरहरू बिहान ६ बजे देखि ९ बजेट सम्म र दिउँसो ३बजे देखि ६ बजेसम्म ।
मेघौली विजयनगर–शुक्रनगर फिडरहरू बिहान ९ बजे देखि १२बजेसम्म र बेलुका ६बजे देखि ९ बजेसम्म ।
जगतपुर रामपुर फिडरहरू दिउँसो १२बजे देखि ३ बजेसम्म र बेलुका ९बजे देखि १२ बजेसम्म ।







