काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्न प्रहरी टोली निवास पुगेपछि आकस्मिक रूपमा कानुन व्यवसायीहरूलाई बोलाएर परामर्श गरेका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा पुगेका प्रहरीबीच ओलीले दुई वरिष्ठ अधिवक्तासँग छलफल गरेको स्रोतले जनाएको छ।
प्रहरीले आवश्यक कागजातसहित निवास पुगेको बताए पनि ओली पक्षले उक्त कदममाथि प्रश्न उठाएको छ। निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।शनिबार बिहान जेनजी आन्दोलनका क्रममा भएको घटनासँग जोडेर पक्राउ गरिएपछि ओलीले यसलाई “प्रतिशोधपूर्ण” कदम भएको टिप्पणी गरेका छन्। परामर्शका क्रममा उनले कानुनी रूपमा सामना गर्ने तयारी गर्न आफ्ना वकिलहरूलाई निर्देशन दिएको बताइएको छ।
ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग छलफल गरेका थिए। परामर्शपछि अधिवक्ता भट्टराईले प्रारम्भिक दृष्टिमा पक्राउको कानुनी आधार कमजोर देखिएको प्रतिक्रिया दिएका छन्।उनले भने, “यो गिरफ्तारीको स्पष्ट कानुनी आधार देखिँदैन, पहिलो नजरमै त्रुटिपूर्ण देखिन्छ।”



