काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.२१ अंक बढेर २९५०.१६ विन्दुमा पुगेको छ।
नेप्से बढे पनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। बुधबार नेप्से घटे पनि कारोबार रकम बढेको थियो ।
आज ३४३ स्टकको एक लाख ४२ हजार ७३४ पटकको कारोबारमा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँबराबरको तीन करोड ४ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार १५ अर्ब नौ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ९४ करोड २९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। एसवाई प्यानल नेपालको करिब ७२ करोड र नेशनल हाइड्रोपावरको ४६ करोड रुपैयाँभनदा बढीको कारोबार भएको छ ।
आज पाँच स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेशनल हाइड्रोपावरको र रिडी पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी र शुभम् पावरको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।
१३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढेको र तीन उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ।








