काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रममा यसपटक पनि भाषिक विविधता देखिने भएको छ । संघीय संसद् सचिवालयका अनुसार ४७ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन् ।
सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार यही चैत १२ गते हुने शपथ कार्यक्रममा विभिन्न भाषामा शपथ लिने तयारी गरिएको हो ।
यस क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिनेछिन् । त्यसैगरी, सांसद उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषालाई रोजेका छन् भने कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन् ।
त्यस्तै, गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले थारू भाषामा शपथ लिने जनाएका छन् । नेपाल भाषा (नेवारी)मा शपथ लिने सांसदहरूमा विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्य रहेका छन् ।
नेपालमा संसदीय अभ्याससँगै मातृभाषामा शपथ लिने परम्परा क्रमशः विस्तार हुँदै आएको छ । विगतका तथ्यांक हेर्दा २०७० सालमा ३५ जना, २०७४ मा ४६ जना र २०७९ मा २८ जना सांसदले नेपालीबाहेकका भाषामा शपथ लिएका थिए ।
यसअघि २०६४ सालको संविधानसभा निर्वाचनपछि भने उल्लेख्य रूपमा २६४ सदस्यले विभिन्न मातृभाषामा शपथ लिएका थिए । त्यतिबेला मैथिली, भोजपुरी, मगर, गुरुङ, थारूका विभिन्न रूप, नेवारी, लिम्बु, तामाङ, राई, उर्दू, शेर्पा, अवधी लगायत अनेक भाषामा शपथ लिइएको थियो ।
सांसद नामावालि :








