काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले २०औँ वर्ष प्रवेशको अवसरमा विशेष कर्मचारी दिवस मनाएको छ। बैंकले चैत्त १ गतेलाई हरेक वर्ष कर्मचारीहरूको सम्मानमा समर्पित गर्दै आएको छ।

यसै अवसरमा बैंकमा १० र १५ वर्षदेखि निरन्तर सेवा दिँदै आएका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मानबाट विभूषित गरिएको छ।

बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा आयोजित समारोमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरे। बैंकमा अविरल सेवा पुर्‍याउने कुल ६२ जना कर्मचारीहरू सम्मानित भएका छन् । जसमध्ये १० वर्ष सेवा पूरा गरेका ४८ र १५ वर्ष सेवा पूरा गरेका १४ जना कर्मचारी छन् ।

सीईओ पोखरेलले कर्मचारीहरूलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई बैंकलाई नयाँ उचाइमा पुर्‍याउन आग्रह गरे। हाल बैंकमा १७ सय ६४ जना कर्मचारी कार्यरत छन् । अहिलेसम्म ३५६ जनाले यस्तो विशेष सम्मान प्राप्त गरिसकेको बैंकले जनाएको छ।

२०६४ वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ यात्रा सुरु गरेको सिटिजन्स बैंकले आज देशकै अग्रणी बैंकको रूपमा आफूलाई स्थापित गरेको छ।

बैंकले विश्वकै प्रतिष्ठित बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गरेको छ । फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल कार्डको सुरुवात गरेको छ । सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा सेवा विस्तार गरेको छ ।