काठमाडौं। मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने एक सिटका लागि अर्यालको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले मन्त्रिपरिषद्ले आफूलाई राष्ट्रिय सभाको उक्त रिक्त सिटमा मनोनयनका लागि सिफारिस गरेको बताए।

राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने एक पद लामो समयदेखि रिक्त रहेको थियो। मन्त्रिपरिषद्को सिफारिसपछि अब राष्ट्रपतिबाट औपचारिक रूपमा मनोनयन हुने प्रक्रिया अघि बढ्नेछ।