काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीका बुवाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
शाहले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै ओलीलाई परेको पितृशोकप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्। उनले संस्कृत श्लोक उद्धृत गर्दै पिताको महत्वबारे उल्लेख गरेका छन्।
पोस्टमा उनले “नास्ति पितुसमं त्राता, नास्ति पितुसमो गुरु:। नास्ति पितुसमं देव, तस्मै श्रीपितृदेवाय नमः॥” भन्ने श्लोक राख्दै पिताजस्तो रक्षक, गुरु र देवता कोही नहुने बताएका छन्।
शाहले केही समयअघि आफ्नै पितालाई गुमाएको स्मरण गर्दै पिताको अनुपस्थितिले जीवनमा कस्तो अपूरणीय अभाव र रिक्तता ल्याउँछ भन्ने आफूले नजिकबाट महसुस गरेको उल्लेख गरेका छन्।
उनले पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। “पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्,” उनले पोस्टमा उल्लेख गरेका छन्।