काठमाडौं। गृह मन्त्रालयले इरानी नागरिकलाई आगमन प्रवेशज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, अब इरानी नागरिकले नेपाल आउँदा अनअराइभल भिसा पाउने छैनन् र नेपाली दूतावासबाट भिसा लिएर मात्र प्रवेश गर्न सक्नेछन्।
गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय गरेको हो। प्रवक्ता काफ्लेले भने, “इरानीहरूले अब नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउँछन्। तत्कालका लागि उनीहरुलाई दिँदै आएको अनअराइभल भिसा प्रक्रिया बन्द गरिएको छ।”
तर कूटनीतिक वा अफिसियल राहदानी भएका इरानी नागरिकलाई भने कुनै रोकतोक नहुने परराष्ट्र मन्त्रालयका स्रोतले जानकारी दिएका छन्।यो निर्णय अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावको पृष्ठभूमिमा आएको हो। अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएका घटनापछि तनाव झन् बढेको छ।
साथै, इरानले पनि अमेरिकी बेसक्याम्पहरूमा आक्रमण जारी राखेको छ। अहिलेसम्म अमेरिकी आक्रमणमा परी इरानमा १३ सय ४८ जना मारिएका छन्। मृतकहरूमा उच्च अधिकारीदेखि सर्वसाधारणसम्म रहेका छन्।नेपालले सुरक्षा जोखिम र अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै इरानी नागरिकको आगमनमा कडाइ गर्ने निर्णय गरेको विश्लेषकहरूले बताएका छन्।







