काठमाडौं,  नेपाल राष्ट्र बैंकले रु. ५० दरका ४२ करोड थान नोट डिजाइन,  छपाई, आपूर्ति तथा सम्बन्धित सेवाहरूका लागि पूर्व योग्य सुरक्षात्मक छपाइकर्ताहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा  विभागद्वारा सार्वजनिक गरिएको सूचना अनुसार यो प्रक्रिया अन्तर्राष्ट्रिय प्रचलनको एक चरण , दुईवटा खाम प्रणाली (Single Stage Two Envelope) मार्फत सञ्चालन गरिने भएको छ। 

बोलपत्र आह्वानको सूचना २५ जुलाई २०२५ मा प्रकाशित गरिएको हो। यसअन्तर्गत बोलपत्रदाताले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव अलग-अलग लिफाफामा राखेर एकैपटक पेश गर्नुपर्नेछ। यस प्रयोजनका लागि इच्छुक पूर्व-योग्य बोलपत्रदाताहरूले बोलपत्रको  कागजात राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा गएर हेर्न तथा खरिद गर्न सक्नेछन्।

बोलपत्र दस्तावेज किन्नका लागि नेपाली रुपैयाँमा रु. २०,०००, अमेरिकी डलरमा १४६, युरोमा १२६ र पाउन्ड स्टर्लिङमा १०९ शुल्क तोकिएको छ । बोलपत्र बुझाउने अन्तिम मिति ८ सेप्टेम्बर २०२५ दिउँसो १२ बजेसम्म तोकिएको छ भने त्यही दिन दिउँसो १ बजे सार्वजनिक रूपमा बोलपत्र खोलिने बताइएको छ। 

बोलपत्र कम्तीमा १ सय २० दिनका लागि मान्य हुनुपर्नेछ र न्यूनतम रु. ४० करोड बराबरको बैंक ग्यारेन्टीसहित पेश गर्नुपर्नेछ। पूर्व-प्रस्ताव छलफल बैठक भने १७ अगस्ट २०२५ मा बिहान ११ बजे राष्ट्र बैंकको थापाथली कार्यालयमा हुने जनाएको छ।