काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन चैतको पहिलो साताभित्र रामचन्द्र पौडेल समक्ष पेश गर्ने तयारी गरेको जनाएको छ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित दल तथा व्यक्तिहरू समेटिएको प्रतिवेदन तयार पारेर राष्ट्रपतिलाई बुझाउने तयारी भइरहेको आयोगले जनाएको छ।आयोगका अनुसार प्रत्यक्षतर्फ १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ। प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले १२५ सिट जितेको छ भने नेपाली कांग्रेस ले १८, नेकपा एमाले ले ९, नेपाल कम्युनिस्ट पार्टी ले ८, श्रम संस्कृति पार्टी ले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट जितेका छन्। साथै स्वतन्त्र उम्मेदवार महावीर पुन पनि विजयी भएका छन्।
समानुपातिकतर्फको मतगणना मंगलबार साँझसम्म सक्ने आयोगको तयारी रहेको छ। यस प्रणालीतर्फ कुल १ करोड ७७ लाख ७११ मत खसेको थियो। समाचार तयार पार्दासम्म करिब १ करोड साढे ५ लाख मत गणना भइसकेको आयोगले जनाएको छ।
यदि आजै मतगणना सम्पन्न भएमा बुधबार राजनीतिक दलहरूलाई आफ्नो भागमा परेका समानुपातिक सांसदहरूको सूची पठाउन आयोगले पत्राचार गर्नेछ। प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनअनुसार दलहरूलाई सूची बुझाउन तीन दिनको समय दिनुपर्ने व्यवस्था छ।
त्यसअनुसार आयोगले दलहरूलाई फागुन ३० गतेसम्मको समय दिनेछ। फागुन महिनामा ३० दिन मात्र भएकाले दलहरूले चैत १ गतेसम्म समानुपातिकतर्फ आफ्नो भागमा परेको सांसदहरूको नामावली आयोगमा बुझाउनेछन्।
दलहरूले पठाएको सूचीमा कुनै त्रुटि भए–नभएको तथा संविधान र कानुनअनुसार क्लस्टर मिलेको–नमिलेको आयोगले अध्ययन गर्नेछ। त्रुटि भेटिएमा सम्बन्धित दललाई सच्याउन दुई दिनको समय दिइनेछ।
त्यसपछि सबै प्रक्रिया मिलेको सुनिश्चित भएपछि आयोगले छिटोमा चैत ३ र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको जनाएको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराई का अनुसार त्यसपछि अन्तिम प्रतिवेदन तयार गरी चैतको पहिलो साताभित्र राष्ट्रपतिसमक्ष पेश गरिनेछ।







