काठमाडौं । नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गरेका छन्।
चुनावपछिको मतगणनामा देशभरबाट अनपेक्षित परिणामहरू आइरहेका बेला एमाले कमजोर अवस्थामा देखिएको सन्दर्भमा उनले कार्यकर्ता र समर्थकलाई सान्त्वना दिँदै यस्तो बताएका हुन्।
पौडेलले आफ्नो सन्देशमा भनेका छन्, “राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन्। कस्तो परिस्थितिमा पनि हाम्रो निष्ठा र संकल्प कमजोर हुनु हुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु।”
उनले विगतमा पार्टीका तर्फबाट भएका गल्ती–कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनअपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन तथा कार्यशैलीलाई जनभावनाअनुसार पुनर्गठन गर्न अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
पौडेलले थप भने, “लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नम्बर २ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु।”
उनले आफूलाई पराजित गर्दै विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। साथै, उक्त क्षेत्रको विकास र समृद्धिको यात्रालाई अझ उच्च उचाइबाट अघि बढाउनेमा विश्वास व्यक्त गरेका छन्।







