काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार बिहान मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गर्दै निर्वाचन सुरक्षालगायत सबै व्यवस्थापकीय कार्य सम्पन्न भएको जानकारी दिइएको हो। बैठक गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकमा सबै जिल्लाको निर्वाचन तयारी, सुरक्षा अवस्था र आवश्यक समन्वयका विषयमा विस्तृत छलफल भएको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यले जानकारी दिइन्। उनका अनुसार प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो–आफ्नो जिल्लामा निर्वाचनको तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको प्रतिवेदन प्रस्तुत गरेका छन्।
करिब तीन घण्टा चलेको उक्त बैठकमा निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता, शान्ति–सुरक्षाको संवेदनशीलता तथा सम्भावित जोखिम व्यवस्थापनबारे समीक्षा गर्दै आवश्यक रणनीति तय गरिएको जनाइएको छ। साथै, केन्द्र र जिल्लाबीच समन्वयलाई थप प्रभावकारी बनाउने समझदारी पनि बनेको छ।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन निर्देशन दिँदै कुनै पनि ढिलासुस्ती नगर्न प्रमुख जिल्ला अधिकारीहरूलाई सचेत गराए। बैठकमा सबै जिल्लाबाट कर्मचारी, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री मतदान स्थलसम्म पुगीसकेको जानकारी समेत गराइएको छ।
गृह मन्त्रालयले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सम्पूर्ण संयन्त्र उच्च सतर्कतामा रहेको जनाएको छ।
गृह मन्त्रालयद्वारा निर्वाचन तयारी सम्पन्न भएको जानकारी







