काठमाडौँ। वैशाखः सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको सूची सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै घाइतेहरूको सूचीकृत प्रक्रिया पूरा गरेको जनाएको छ।
स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार पछिल्लो चरणमा प्राप्त २५० जनाको विवरणमध्ये मापदण्ड पूरा गरेका २२ जनाको नाम मात्रै सूचीकृत गरिएको हो। यससँगै जेनजी आन्दोलनमा घाइतेको कुल संख्या दुई हजार ६६० पुगेको छ।
निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय लगायतका निकायबाट २५० जनाको नाम प्राप्त भएको थियो। तर मन्त्रालयले तय गरेको मापदण्डअनुसार २२ जनालाई मात्र प्रमाणीकरण गरेर सूचीकृत गरिएको बुढाथोकीले बताए।
उनका अनुसार ती २२ जनाको नाम अस्पतालका रेकर्ड र सम्बन्धित अस्पताल प्रमुखको प्रमाणीकरणका आधारमा स्वीकृत गरिएको हो। जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देशभरका ९९ अस्पतालमा घाइतेहरूको उपचार गरिएको थियो।
नयाँ सूचीकृत भएका २२ जनाको विवरण गृह मन्त्रालयमा पठाइएको छ। सूचीकृत घाइतेहरूले अध्ययनका लागि कोटा, रोजगारी र उपचार सुविधा पाउने व्यवस्था रहेको छ।





