काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा ग्रहण स्पर्श गर्ने उल्लेख छ ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार ग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदयपछि खण्डग्रासका रूपमा देखिनेछ । बेलुका ६ बजेर ३ मिनेटमा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास अवस्थामै चन्द्रमा उदाउनेछ भने बेलुका ७ बजेर २ मिनेटमा ग्रहण समाप्त हुनेछ । नेपालबाट करिब एक घण्टा ग्रहण अवलोकन गर्न सकिनेछ ।

पृथ्वीले सूर्यलाई पूर्ण रूपमा छेक्दा चन्द्रमा पूरै ढाकिने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ भने केही भाग मात्र ढाकिने अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाया चन्द्रमामा परेर चन्द्रग्रहण लाग्ने गर्छ । यस वर्ष नेपालबाट देखिने यो दोस्रो ग्रहण हो । यसअघि भदौ २२ गते खग्रास चन्द्रग्रहण देखिएको थियो ।

ADVERTISEMENT

धार्मिक मान्यताअनुसार चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा)अघिदेखि सुतक लाग्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार सुतक लागेपछि भोजन गर्न नहुने विश्वास छ । मंगलबार बिहान ९ बजेर ३ मिनेटपछि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई भोजन निषेध गरिएको शास्त्रीय मान्यता रहेको जनाइएको छ ।

ADVERTISEMENT

ग्रहणका बेला जप, स्नान, ध्यान तथा पाठ गर्नु फलदायी मानिन्छ । सम्भव भएसम्म तीर्थस्थल वा नजिकको नदी, ताल, तलाउमा स्नान गर्नुपर्ने उल्लेख धार्मिक ग्रन्थहरूमा गरिएको छ ।

ADVERTISEMENT

यता, खगोलसम्बन्धी अध्ययन गर्दै आएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले मौसम अनुकूल भए देशका सबै भागबाट ग्रहण प्रस्ट देख्न सकिने जनाएको छ । चन्द्रग्रहण हेर्न विशेष उपकरण आवश्यक नपर्ने बताइएको छ ।

सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एक मात्र ग्रहण हो । घरको छत, खुला चौर वा नजिकको डाँडाबाट अवलोकन गर्न सकिने र चन्द्रोदयसँगै उच्च भू–भागबाट हेर्न उपयुक्त हुने उनको सुझाव छ ।

वैज्ञानिक रूपमा हेर्दा पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ । चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब पाँच डिग्रीको कोणमा रहेकाले सबै पूर्णिमामा चन्द्रग्रहण नलाग्ने खगोलविद्हरू बताउँछन् ।