काठमाडौं, भदौ ८ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र कारोबार गर्न ब्रोकर छनोटमा कडा मापदण्ड लागू गरेको छ। संस्थागत लगानी तथा कारोबारलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले टेलिकमले वित्तीय क्षमता, कारोबारको आकार र संस्थागत अनुभवलाई छनोटको मुख्य आधार बनाएको हो।

टेलिकमले सार्वजनिक गरेको प्रस्ताव आह्वानअनुसार छनोटमा सहभागी हुन चाहने ब्रोकर कम्पनीले पछिल्ला दुई आर्थिक वर्षमा सेयर खरिदबिक्रीतर्फ वार्षिक औसत १० अर्ब रुपैयाँभन्दा बढी कारोबार गरेको हुनुपर्नेछ। यसले ठूलो परिमाणको संस्थागत कारोबार व्यवस्थापन गर्न सक्ने क्षमता भएका ब्रोकरलाई प्राथमिकता दिने संकेत गरेको छ।

त्यस्तै, आवेदक कम्पनी नेपाल धितोपत्र बोर्डबाट पूर्ण अनुमति प्राप्त तथा तोकिएको न्यूनतम चुक्ता पुँजी पूरा गरेको हुनुपर्नेछ। आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने र सोही वर्ष खुद कार्यशील पुँजी धनात्मक हुनुपर्ने सर्त पनि राखिएको छ।

ADVERTISEMENT

टेलिकमले ब्रोकरको अनुभवलाई समेत महत्त्व दिएको छ। आवेदकसँग कम्तीमा दुई वर्षको ब्रोकरेज अनुभव हुनुपर्नेछ भने सरकारी स्वामित्वको संस्था वा ठूलो कर्पोरेट संस्थाको सेयर कारोबारमा कम्तीमा एक वर्ष काम गरेको अनुभवसमेत आवश्यक पर्नेछ।

ADVERTISEMENT

नेपाल टेलिकमको यस्तो कडाइले ठूला संस्थागत ग्राहकको कारोबार व्यवस्थापन गर्न ब्रोकर कम्पनीलाई वित्तीय क्षमता, प्रविधि र सेवा गुणस्तर सुधार गर्न दबाब बढाउने देखिएको छ। यसले नेपालको पुँजी बजारलाई थप व्यावसायिक, सुरक्षित र संस्थागत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT