काठमाडौँ । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीबाट गम्भीर लापरवाही भएको आरोप लागेको छ।
घटनामा संलग्न भएको अभियोग लागेका एक किशोरको हतकडी लगाइएको अवस्थामा बयान लिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानको मर्यादा र कानुनी गोपनीयतामाथि प्रश्न उठेको छ।
भाइरल भिडियोमा हतकडी लगाइएका किशोरलाई घटनाबारे प्रश्न सोधिएको देखिन्छ। भिडियो खिच्ने क्रममा किशोरको अगाडि र पछाडि दुई जना प्रहरी कर्मचारीसमेत देखिएका छन्। यसले प्रहरीकै निगरानीमा भिडियो रेकर्ड भएको हुनसक्ने देखिएको छ।
प्रारम्भिक अध्ययनअनुसार भिडियो कुनै सञ्चारमाध्यम वा पत्रकारले खिचेको नभई पक्राउ परेका किशोरलाई मेडिकल जाँचका लागि अस्पताल लैजाँदा रेकर्ड भएको पाइएको छ। बाराका प्रहरी स्रोतका अनुसार मेडिकल जाँचका क्रममा दुई जना प्रहरी ड्युटी अफिसरसँगै रहेको अवस्थामा चिकित्सकले गरेको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
मुलुकी अपराध संहिताले अपराधका घटनामा पीडितसँगै अभियुक्तको गोपनीयता कायम गर्नुपर्ने व्यवस्था गरेको छ। संवेदनशील प्रकृतिका मुद्दाको अनुसन्धानका क्रममा लिइएका अडियो तथा भिडियो सार्वजनिक गर्न नमिल्ने भए पनि यस घटनामा त्यस्तो सामग्री बाहिरिएको हो।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएको जानकारी पाएपछि मधेस प्रदेश प्रहरी प्रमुखमार्फत जिल्ला प्रहरी कार्यालय बारासँग विवरण माग गरिएको छ। प्रहरी प्रधान कार्यालयले समेत घटनाबारे छुट्टै टोली बनाएर छानबिन थालेको बताइएको छ।
यसैबीच, सरकार र पीडित परिवारबीच शनिबार साँझ गृह मन्त्रालयमा तीनबुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, महिला तथा बालबालिकामन्त्री सीता बादी र कृषि तथा वनमन्त्री गीता चौधरीको उपस्थितिमा पीडित बालिकाका बुवा मनोजकुमार चौधरी र आमा मानमती चौधरीबीच सहमति भएको हो।
सहमति अनुसार जघन्य अपराधसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी संशोधन प्रस्ताव तयार पार्न कानुन मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्नेछ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ।
त्यस्तै, पीडित परिवारको मागअनुसार बालिका गरिमाको स्मृतिमा सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग आवश्यक समन्वय गर्ने सहमति भएको छ।
सहमति भएपछि अभिभावकले आफ्नै धार्मिक तथा सांस्कृतिक रीतिरिवाजअनुसार बालिकाको अन्त्येष्टि गर्न मञ्जुर भएका छन्।






