काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा अगाडि बढेका ‘खानी तथा खनिज पदार्थ विधेयक’ र ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ मा उल्लेख्य सङ्ख्यामा संशोधन प्रस्ताव दर्ता भएका छन्।
संसद् सचिवालयका अनुसार खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा र राहदानी (पहिलो संशोधन) विधेयकमा १७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। दुवै विधेयकमा गरी कुल ५२ वटा संशोधन प्रस्ताव परेका छन्।
सचिवालयले दर्ता भएका प्रस्तावहरू एकल वा समूहगत के–कस्ता छन् भन्ने छुट्याएर एकीकृत गर्ने काम भइरहेको जनाएको छ। सङ्घीय संसद् सचिवालयको विधेयक शाखा (प्रतिनिधिसभा) का शाखा अधिकृत जयराम खड्काका अनुसार संशोधन प्रस्तावलाई स्वीकृत गरी प्रक्रियामा लैजान केही समय लाग्नेछ।
‘हामी अहिले एकल वा समूहगत रूपमा प्राप्त भएका प्रस्तावहरूलाई एकीकृत गर्दैछौँ, यो प्रक्रिया पूरा भएपछि मात्रै छलफलका लागि अगाडि बढ्छ,’ खड्काले भने।
संशोधन प्रस्ताव एकीकृत गरेपछि मात्रै दुवै विधेयकमाथि प्रतिनिधिसभामा थप छलफलको प्रक्रिया अघि बढ्नेछ।






