नेपालगञ्ज (बाँके), भदौ ८ गते । भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक वर्ष २०८२/८३ को अवधिमा ८३ जना नयाँ एचआइभी संक्रमित फेला परेका छन्। अस्पतालले उक्त अवधिमा सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरेको थियो।

अस्पतालका एचआइभी फोकलपर्सन डा. सङ्केतकुमार रिसालका अनुसार परीक्षणका क्रममा एचआइभी संक्रमण पुष्टि भएका व्यक्तिलाई शीघ्र एआरटी सेवा उपलब्ध गराइएको छ। संक्रमण पुष्टि भएपछि उपचारमा ढिलाइ नगरी आवश्यक परामर्श तथा औषधि उपचारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

अस्पतालले एचआइभी संक्रमितको पहिचानसँगै नियमित उपचार तथा सेवामा निरन्तरता दिनुलाई प्राथमिकतामा राखेको जनाएको छ। त्यस्तै, संक्रमण रोकथाम, संक्रमितको स्वास्थ्य अवस्था व्यवस्थापन तथा आमाबाट शिशुमा एचआइभी संक्रमण सर्ने सम्भावना न्यूनीकरणका लागि पनि आवश्यक सेवा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।

ADVERTISEMENT

एचआइभी संक्रमणको समयमै पहिचान र उपचारले संक्रमितको स्वास्थ्य अवस्था सुधार गर्न तथा संक्रमण फैलिने जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीको भनाइ छ। त्यसैले जोखिममा रहेका व्यक्तिले समयमै परीक्षण गराउन र संक्रमण पुष्टि भएमा नियमित उपचारमा रहन चिकित्सकले सुझाव दिएका छन्।

ADVERTISEMENT

भेरी अस्पतालले एचआइभी परीक्षण तथा उपचार सेवामार्फत संक्रमितको पहिचान, उपचारमा पहुँच र संक्रमण नियन्त्रणलाई निरन्तरता दिइरहेको जनाएको छ।

ADVERTISEMENT