काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिँदै भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।

आज श्रव्यदृश्य माध्यमबाट देशभरका प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले निर्वाचनअघि, निर्वाचनको दिन र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे विस्तृत निर्देशन दिएका हुन्। उनले राष्ट्रप्रतिको दायित्वलाई प्राथमिकतामा राख्दै अनुशासित, निष्पक्ष र प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा संवेदनशीलताको सूक्ष्म विश्लेषण गर्दै स्पष्ट रणनीतिसहित परिचालन हुनुपर्नेमा जोड दिएका छन्। उनले भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्न निर्देशन दिएका छन्।

उनका अनुसार निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन प्रहरी संगठन पूर्ण प्रतिबद्धताका साथ परिचालन हुने जनाएको छ।