काठमाडौं। देवराज घिमिरेले महाकाली सन्धिबारे आफू स्पष्ट रहेको दाबी गरेका छन्। नेकपा एमालेका तर्फबाट झापा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पूर्व सभामुख घिमिरेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पछिल्लो समय आफू ‘अल्गोरिदम बायस’को शिकार भएको उल्लेख गरेका हुन्।
फेसबुकमार्फत उनले लेखेका छन्, “महाकाली सन्धिका विषयमा सामाजिक सञ्जाल र कतिपयले व्यक्तिगत रूपमा पनि जिज्ञासा राख्नुभएको छ। मैले यस विषयलाई धेरै गम्भीरताका साथ लिएको थिइनँ। धेरैमा भ्रम पनि देखियो।” उनले महाकाली सन्धिबारे आफू स्पष्ट रहेको र सोधिएका प्रश्नहरूको जवाफ दिइरहेको पनि बताएका छन्।
घिमिरेले ‘घृणाको राजनीति’ गर्न खोज्नेहरूलाई कम्तीमा सन्धिबारे अध्ययन र विश्लेषण गर्न आग्रह गरेका छन्। “जसले घृणाको राजनीति गर्न खोजिरहनुभएको छ, उहाँहरूलाई कम्तीमा सन्धिबारे अध्ययन र विश्लेषण गर्न अनुरोध गर्दछु,” उनले लेखेका छन्।
केही दिनअघि एक व्यक्तिले आफूलाई ‘भाइरल बनाउने नियतले’ भिडियो खिचेर सोही विषयमा प्रश्न सोधेको उल्लेख गर्दै उनले नियोजित प्रयास भएको थाहा पाएपछि जवाफ नदिएको दाबी गरेका छन्। उक्त भिडियो अहिले अमुक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भइरहेको उनको भनाइ छ।
आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको स्पष्ट पार्दै उनले सो समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको बताएका छन्। “लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ। पार्टीमा मेरो मत जाहेर गरेको हुँ। मसँगै थुप्रै नेताले पक्ष–विपक्षमा बहस गरेका थियौँ। भएको यत्ति हो,” उनले उल्लेख गरेका छन्।
पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत राख्छ भन्ने आरोप लगाइनु दुःखद भएको उनको भनाइ छ। आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले राजनीति आफ्नो लागि पेसा नभई सेवा भएको दाबी गरेका छन्। “बिना श्रमको पैसा एक रुपैयाँ लिएको छैन। ओहदा र प्राप्तिका लागि राजनीति गरेको छैन,” उनले भनेका छन्।
तीन वर्षअघि प्रतिनिधिसभाको सभामुखका रूपमा राजकीय जिम्मेवारी सम्हाल्दा इमानदारिताका साथ काम गरेको र झापा–२ का मतदाताका लागि सक्दो योगदान दिएको उनले दाबी गरेका छन्।







