वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गरेका छन् ।
उनले आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गरे । घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उनको पहिलो कार्यकालकै सबैभन्दा लामो सम्बोधन बनेको छ ।
कंग्रेसको संयुक्त सत्रअघि बोल्दै राष्ट्रपति ट्रम्पले अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको र मतदाताले रिपब्लिकनलाई समर्थन गरे अझ प्रगति हुने बताए । ‘हाम्रो देश फेरि जित्दैछ’ उनले भने, ‘हामी यति धेरै जित्दैछौँ कि कहिलेकाहीँ के गर्ने भन्ने नै थाहा हुँदैन ।’
भाषणमा उनले सैन्य कारबाही, व्यापार नीति र आप्रवासन नियन्त्रणलाई उपलब्धिका रूपमा प्रस्तुत गरे । आयात शुल्कसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले वैकल्पिक कानूनी प्रावधान प्रयोग गरेर अगाडि बढ्ने संकेत गरे । उनले उपभोक्ताले मूल्य चुकाउने आलोचनाबीच पनि शुल्क विदेशी देशले तिर्ने दाबी दोहोर्याए ।
सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबट्र्ससहित केही न्यायाधीश कंग्रेसको संयुक्त सत्रमा भइरहेको स्टेट अफ द युनियन सम्बोधनका क्रममा प्रतिनिधिसभा कक्षमै उपस्थित थिए । भाषण चलिरहेकै बेला शुल्कसम्बन्धी निर्णयको प्रसंग उठ्दा डेमोक्रेट सांसदहरूले स्वागत जनाए पनि अन्य विषयमा तीव्र विरोध देखियो ।
क्यालिफोर्नियाका मार्क टाकानो र मिशिगनकी रशिदा तलैबले खुला रूपमा आलोचना गरे भने अल ग्रीनलाई सम्बोधन सुरु भएको केहीबेरमै विरोध प्रदर्शनपछि कक्षबाट बाहिर निकालियो ।
राष्ट्रपतिले आप्रवासनविरुद्ध कडा सन्देश दिँदै अवैध विदेशी होइन, अमेरिकी नागरिकको रक्षा गर्नुपर्ने बताए । उनले मेल–इन मतपत्र सीमित गर्ने र मतदाता परिचय कडा पार्ने प्रस्तावसमेत अघि सारे । तर जीवनयापनको बढ्दो लागत र अर्थतन्त्रको सुस्त वृद्धि जस्ता विषयले अपेक्षाकृत कम समय पाए ।
भाषणका भावनात्मक क्षणहरूमा ओलम्पिक स्वर्ण विजेता अमेरिकी पुरुष हक्की टोलीलाई सम्मान गरिएको थियो । गोलकिपर कनर हेलेब्यूकलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडम दिने घोषणा र नेसनल गार्ड सदस्य एन्ड्र्यु वोल्फलाई पर्पल हार्ट प्रदान गरिँदा दुवै दलका सांसदहरूले उभिएर अभिवादन गरेका थिए । सन् २०२० मा रेडियो होस्ट रस लिम्बगलाई दिइएको सम्मानको स्मरण पनि गराइयो ।
विदेश नीतिमा राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार कहिल्यै राख्न नदिने चेतावनी दोहोर्याए । मध्यपूर्वमा दुई अमेरिकी विमानवाहक पठाइएको पृष्ठभूमिमा उनले कूटनीतिक समाधान प्राथमिकता रहेको तर आवश्यक परे कठोर कदम चाल्ने बताए । उनले तेहरानमाथिको हवाई आक्रमण र भेनेजुएलामा निकोलस मदुरोलाई अपदस्थ गरिएको कारबाहीको प्रशंसा गरे ।





